‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत

चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले आयोजना गर्ने ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ आगामी असार ६ गते शनिबार संयुक्त रूपमा वितरण गरिने भएको छ। समाजले दुई वर्षमा प्रदर्शन भएका चलचित्रहरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाका विजेताहरू यसअघि नै घोषणा गरिसकेको छ। २०८१ तर्फ ‘शाम्बाला’का निर्देशक मीनबहादुर भाम, अभिनेता दयाहाङ राई, अभिनेत्री थिन्ले ल्हामो तथा विभिन्न प्राविधिक विधाका स्रष्टाहरू पुरस्कृत हुनेछन् भने २०८२ तर्फ ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ। यसैगरी निर्देशक नवीन चौहान, अभिनेता हरिवंश आचार्य (भूठान), अभिनेत्री आना शर्मा (रमिताको पिरती), छायांकनतर्फ सुशन प्रजापति, सम्पादनतर्फ अञ्जय खड्का र पाश्र्व संगीततर्फ कोविद बज्र सम्मानित हुनेछन्। महालक्ष्मी चक्की आटा मुख्य प्रायोजक रहेको उक्त अवार्डमा अन्नपूर्ण स्पाइकर र ओएसआर डिजिटल सह–प्रायोजक रहेका छन् भने नेपाल फिल्म क्याम्पसले सहकार्य गरेको छ।