जनकपुरमा मिटरब्याज पीडितको अदालत अगाडि प्रदर्शन, दमन बन्द गर्न माग
जनकपुर । मधेश प्रदेशका आठ जिल्लाका मिटरब्याज पीडितहरूले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन्। १७ दिनदेखि अनिश्चितकालीन आन्दोलनमा रहेका पीडितहरूले मंगलबार अदालत अगाडि सडक अवरुद्ध गर्दै विभिन्न नारा लगाएर प्रदर्शन गरेका हुन्। उनीहरूले मिटरब्याज पीडितमाथि पक्राउ रोक्न, सुदखोरमाथि कारबाही गर्न र अदालत तथा प्रशासनको कथित दमन बन्द गर्न माग गरेका छन्। आन्दोलनकारीहरूले अदालतको एकलौटी फैसलाका आधारमा पक्राउ नगर्न तथा सम्बन्धित कानुन कार्यान्वयन गर्न पनि माग गरेका छन्। मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका अध्यक्ष अवधेश कुशवाहले सरकारले समस्या समाधानमा उदासीनता देखाएको आरोप लगाउँदै आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएका छन्। उनका अनुसार देशभर लाखौं मिटरब्याज पीडित रहेको र मधेश प्रदेशमा मात्र ठूलो संख्यामा प्रभावित रहेको दाबी गरिएको छ।