वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक
0 MIN READ
काठमाडौं । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ। श्यामश्वेत थिममा रोयल भीमसनेले तयार पारेको पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ। यो वृत्तचित्र मकवानपुरको मनोहरी क्षेत्रको जङ्गलबीच रहेको एक विकट चेपाङ गाउँमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको कथामा आधारित छ, जसले गरिबी, एक्लोपन र अनेकौँ अभावका बाबजुद पनि जीवनप्रतिको आशा जीवित राख्दै गरेको संघर्ष र उनको मौन साहसलाई सूक्ष्म रूपमा प्रस्तुत गर्छ।
निर्देशक केसीले सन्चलालको मार्मिक अवस्था र सीमान्तकृत समुदायको यथार्थलाई अत्यन्तै संवेदनशील ढंगले देखाउने प्रयास गरेका छन्। वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत उल्लेखनीय सफलता हासिल गरिसकेको छ, जसअनुसार अष्ट्रेलियामा आयोजित ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’को सन् २०२५ को चौथो सिजनमा वर्षकै उत्कृष्ट वृत्तचित्रको रूपमा छनोट भई दुई अवार्ड जितेको छ भने ‘बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि आधिकारिक रूपमा छनोट पनि भएको छ। वृत्तचित्रको लेखन निर्देशक केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन् भने छायांकन अर्जुन सापकोटा र हिमाल शर्माले गरेका छन्।