समस्याग्रस्त सहकारीका सञ्चालकहरूको विवरण सार्वजनिक, सहयोग नगरे कारबाही हुने चेतावनी
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको उपलब्ध विवरण सार्वजनिक गरेको छ। समितिको जेठ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको विवरणमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम र अन्य विवरण समावेश गरिएको छ। कार्यालयले विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ। साथै, सहकारीको रकम वा सम्पत्ति लुकाइएको सम्बन्धी जानकारी भए कार्यालयलाई सूचित गर्न पनि अनुरोध गरेको छ। समितिले सञ्चालकहरूलाई दायित्व फर्छ्योट, ऋण असुली तथा सम्पत्ति पहिचान र व्यवस्थापन प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै असहयोग गरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। समितिका अनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो।