सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फन्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता बैंकिङ सेवा अलग–अलग प्रणाली प्रयोग नगरी एउटै प्लेटफर्मबाट गर्न सक्ने भएका छन्। यसका लागि एपीआई बैंकिङ प्लेटफर्म ‘¥यापिड’ र सिटिजन्स बैंकबीच सहकार्य भई प्रणाली एकीकृत गरिएको छ। यससँगै ग्राहकले आफ्नो ईआरपी वा सफ्टवेयरमार्फत बैंकिङ सेवा सिधै सञ्चालन गर्न सक्नेछन्। ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत बैंक खाता लिंक गरी सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ। यसले कर्पोरेट ग्राहकको सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ। गोक्यो ल्याब्सका अनुसार ‘¥यापिड’ को प्रयोगले वित्तीय कारोबार डिजिटल रूपमा एकीकृत भई समय, लागत र सञ्चालन झन्झट घट्नेछ। सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्रै फाराम भरेपछि अधिकांश काम अनलाइनमै गर्न सकिनेछ। सुरक्षाका लागि प्लेटफर्ममा एन्ड–टु–एन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अन्य आधुनिक सुरक्षा प्रणाली प्रयोग गरिएको छ। एपीआई आधारित ‘¥यापिड’ ले बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकलाई जोड्दै व्यवसायहरूलाई एकीकृत बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

LOAD MORE