रोकिएको सम्पत्ति फुकुवाको मागले इरान–अमेरिका वार्ता पेचिलो

%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ab%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95

काठमाडौं । इरानले वार्ताको सुरुवातमै रोकिएको सम्पत्ति फुकुवा गर्नुपर्ने अडान लिएपछि अमेरिका–इरान कूटनीतिक संवाद थप जटिल बनेको छ। इरानले अरबौं डलर बराबरको फ्रोजन एसेट्समध्ये केही रकम तत्काल उपलब्ध गराउन माग गरेको छ। मध्यस्थकर्ताहरूले सहमति गराउने प्रयास गरे पनि प्रगति हुन सकेको छैन।

इरानले प्रतिबन्धमा राहत बिना अघि नबढ्ने संकेत दिएको छ भने अमेरिकाले आणविक कार्यक्रम र होर्मुज जलमार्गमा प्रगति नभएसम्म आर्थिक सहुलियत नदिने स्पष्ट पारेको छ। यता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ता सकारात्मक दिशामा रहेको र सहमतिको सम्भावना जीवित रहेको बताएका छन्। यसैबीच ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई सुरक्षित व्यवस्थापन गर्न अमेरिका सक्षम रहेको दाबी गरेका छन्।

वार्तासँगै खाडी क्षेत्रको सुरक्षा अवस्था पनि तनावपूर्ण बनेको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र ६३ जना घाइते भएका छन्। युद्धविरामपछि भएको यो पहिलो घातक घटना हो। कुवेती अधिकारीहरूले आक्रमणमा मिसाइल र ड्रोन प्रयोग भएको बताएका छन्। तर इरानको आईआरजीसीले संलग्नता अस्वीकार गर्दै क्षति प्रतिरक्षा प्रणालीको प्राविधिक समस्याका कारण भएको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अधिकांश मिसाइल र ड्रोन लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारिएका थिए। यता अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनमा सहमति भएको छ। सहमतिअनुसार हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने र दक्षिणी लेबनानबाट आफ्ना लडाकु फिर्ता गर्नुपर्नेछ।

वार्ताको गतिरोध र खाडी क्षेत्रमा बढ्दो तनावले मध्यपूर्वको सुरक्षा अवस्था अझ संवेदनशील बनेको छ।