ट्राफिक व्यवस्थापनलाई डिजिटल बनाउन एकीकृत प्रणाली आवश्यक : एसएसपी अधिकारी
0 MIN READकाठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणाली आवश्यक रहेको बताएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी कार्यशालामा बोल्दै उनले परम्परागत ट्राफिक व्यवस्थापनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार ट्राफिक व्यवस्थापनलाई एकीकृत कन्ट्रोल रुममार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ, जसले व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउनेछ।
एसएसपी अधिकारीले ‘फेसलेस ट्राफिक व्यवस्थापन’ को अवधारणामार्फत ट्राफिक प्रहरी र सेवाग्राहीबीचको प्रत्यक्ष सम्पर्क घटाई पारदर्शिता बढाउने लक्ष्य रहेको बताए।
सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र स्मार्ट ट्राफिक व्यवस्थापनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने पनि उनले जानकारी दिए।