एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन गरिने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) को २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन जेठ २४ र २५ गते ललितपुरमा हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। कार्यक्रममा सातै प्रदेश, ७७ जिल्लाका प्रतिनिधि, महिला उद्यमी तथा पर्यवेक्षकसहित करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघ र केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व चयन गर्नेछ। साथै संगठनात्मक सुदृढीकरण, उद्योग क्षेत्रका चुनौती तथा अवसर, महिला उद्यमशीलता, नवप्रवर्तन र बजार विस्तारका विषयमा छलफल हुने जनाइएको छ। कार्यक्रमका अवसरमा नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुको प्रदर्शनीसमेत आयोजना गरिनेछ। यसैबीच महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति मिश्रित प्रतिक्रिया जनाउँदै उत्पादनमूलक क्षेत्र र निजी क्षेत्रलाई सम्बोधन गर्ने केही सकारात्मक व्यवस्था भए पनि लघु, घरेलु तथा साना उद्योगलाई अपेक्षित प्राथमिकता नदिइएको टिप्पणी गरेको छ। महासंघले बजेटका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा युवा र महिला उद्यमीका लागि थप सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।