होटल व्यवसायीको चिन्ता अन्त्य हुने : प्रधानमन्त्री शाह
पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम अगाडि बढिरहेकाले होटल व्यवसायीहरूको चिन्ता अब हट्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष भेटघाटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको मजबुत साझेदारका रूपमा अगाडि बढ्न प्रोत्साहन गरे । उनले व्यवसायीहरूलाई कानुन पालना गर्दै आफ्नो व्यावसायिक दायित्व पूरा गर्न, साना–मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा हुन सक्ने सहकार्यबारे अध्ययन गर्न समेत आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल पनि सहभागी रहेको यस भेटघाटमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी दिए । हाल वार्षिक जम्मा १२ लाख पर्यटक मात्र भित्रिइरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक संख्या बढेसँगै आन्तरिक रोजगारी उल्लेख्य रूपमा बढ्ने र नेपाली युवालाई वैदेशिक रोजगारीतर्फ जानबाट रोक्न होटल क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने बताए । भेटघाटमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालय प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो ।