बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्‍याउन मन्त्री तिमिल्सिनाको निर्देशन

badimalika-telephone-internet-service-minister-timilsina

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन दिएका छन् ।

पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले गम्भीर चासो देखाउँदै तत्काल सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए ।

मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्रै टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा काम छिटो सम्पन्न हुने टेलिकमको भनाइ थियो । देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माणको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको छ ।

बडीमालिकालगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरे, जसमा अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने र अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको थियो । साथै मन्त्रीले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्कासँग पूर्वाधार आवश्यकता र सडक सञ्जालको अवस्थाबारे पनि जानकारी लिए ।

नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुरूप नेपाल टेलिकमले काम गरिरहेको छ । बाजुराको बडीमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा फोरजी सेवा तत्काल सुरु गर्ने लक्ष्य राखिएको छ भने सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ ।

केही दिनअघि मात्रै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा करिब ३९०० मिटर उचाइमा र ताप्लेजुङको ओलाङचुङगोलामा ३४०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा आइसकेको छ ।

डिजिटल विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकताअनुरूप सञ्चार मन्त्रालयले काम गरिरहेको छ । अहिले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ, जसका लागि नेपाल टेलिकमले मात्रै आगामी आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ ।