एमाले मन्त्रीको राजीनामा, बागमती सरकार अल्पमतमा

bagmati-government-minority-uml-ministers-resign

मकवानपुर । सत्ता साझेदार एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा गराई समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।

बुधबार सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिँदै समर्थन फिर्ता लिए । उनीहरूले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटी एमालेले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जनाए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र बुझाए ।

मुख्यमन्त्री बानियाँले भेट नदिएपछि सम्बन्धित मन्त्रीहरूले मुख्यमन्त्री सचिवालयमा राजीनामा पत्र दर्ता गराएका थिए भने प्रमुख सचिव बाबुराम अधिकारीसमक्ष पनि राजीनामा बुझाए ।

राजीनामा दिनेमा उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल र विनाविभागीय मन्त्रीहरू किरण थापा, भरतबहादुर केसी तथा जयराम थापा समावेश छन् ।

मन्त्रीहरूको राजीनामा र समर्थन फिर्ताले बागमतीको सत्ता राजनीतिमा नयाँ मोड ल्याएको छ, जसले मुख्यमन्त्री बानियाँलाई सरकार जोगाउने चुनौतीतर्फ धकेलेको छ । संवैधानिक व्यवस्था अनुसार उनले आगामी ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने बाध्यता छ, जसका लागि नयाँ गठबन्धनसहित ५३ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

बानियाँले साउन २० देखि एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व गर्दै आएका थिए । यसअघि बजेटमाथिको विरोधलाई अवसरमा बदल्दै उनले तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलको नेताबाट हटाएका थिए । अहिले चर्चामा रहेको एमाले-नेकपा वाम गठबन्धनका लागि पनि आवश्यक संख्या जुटाउनु उत्तिकै चुनौतीपूर्ण देखिन्छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा हाल ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्, जसमध्ये सरकार गठन वा निरन्तरताका लागि ५३ सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद रहेका छन् ।