देवानगञ्ज झडप: शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपमा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
यसै घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह र पार्टी नेता वीरेन्द्र केएमले सोमबार गृहमन्त्री सुधन गुरुङसँग भेटघाट गरी छलफल गरे ।
भेटघाटका क्रममा उनीहरूले घटनाको यथार्थ तथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग राख्दै सरकारको विशेष ध्यान आकर्षित गराए । दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने पनि उनीहरूले जोड दिए ।
झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ ।
सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावलाई साझा शक्तिका रूपमा उल्लेख गर्दै उनीहरूले सबै पक्षलाई शान्ति र कानुनी प्रक्रियामा विश्वास राख्न तथा समाजमा सद्भाव कायम राख्न अनुरोध गरे ।
गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै, धार्मिक आवरणमा अवैध गतिविधि गर्नेहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने उनले बताए ।