दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, पर्यटकीय र ऐतिहासिक गन्तव्य बनाउने तयारी
चितवनको भरतपुर महानगरपालिका–१९ स्थित ऐतिहासिक दासढुंगा क्षेत्रमा नेपाल कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता तथा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा निर्माण भइरहेको ‘मदन भण्डारी पार्क’ अन्तिम चरणमा पुगेको छ। पार्क निर्माणको उद्देश्य दासढुंगाको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै भावी पुस्तालाई नेपालको राजनीतिक इतिहाससँग परिचित गराउनुका साथै यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु रहेको निर्माण पक्षले जनाएको छ। पार्क निर्माण सम्पन्न भएपछि दासढुंगा क्षेत्र इतिहास, राजनीतिक अध्ययन र आन्तरिक पर्यटनलाई एकैसाथ जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। वि.सं. २०५० साल जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप दासढुंगाबाट त्रिशूली नदीमा खस्दा दुवै नेताको निधन भएको थियो। नेपालको राजनीतिक इतिहासमा अत्यधिक चर्चित र लामो समयसम्म बहस तथा अनुसन्धानको विषय बनेको उक्त घटनास्थललाई संरक्षण गर्न तथा त्यससँग जोडिएको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न स्मृति पार्क निर्माण सुरु गरिएको हो। यसमार्फत ऐतिहासिक घटनास्थललाई संरक्षण गर्दै नयाँ पुस्तालाई त्यस समयको राजनीतिक पृष्ठभूमिबारे जानकारी दिने लक्ष्य राखिएको छ। पार्क निर्माणमा संलग्न मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई आधुनिक सुविधा सम्पन्न स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। यसअघि यहाँ आउने पर्यटकका लागि आधारभूत सुविधा पर्याप्त नभएकाले उनीहरूले सहज रूपमा अवलोकन गर्न कठिनाइ हुने गरेको थियो। अहिले ती सबै कमजोरीलाई…