प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको कडा आपत्ति, सार्वजनिक माफी माग्न माग
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु गम्भीर, दुर्भाग्यपूर्ण र राष्ट्रिय हितविपरीत भएको बताएका छन्।
नेपाली जनता विगतदेखि नै राष्ट्रिय स्वाधीनता र भू–अखण्डताको रक्षाका लागि संघर्षरत रहेको उल्लेख गर्दै उनले देशमाथिको अतिक्रमणलाई सामान्य रूपमा प्रस्तुत गर्ने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने बताएका छन्।
प्रधानमन्त्रीले यस्तो धारणा कुन आधार, प्रमाण वा तथ्यका आधारमा सार्वजनिक गरेका हुन् भन्ने प्रश्न उठाउँदै खनालले उक्त भनाइले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामा चोट पुर्याएको दाबी गरेका छन्।
उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गर्दै त्यसो नभएसम्म विरोध जारी राख्न देशभक्त नागरिक र राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। साथै, विवादित भनाइलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसँग मागसमेत गरेका छन्।
खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत रहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।