चक्रपथमा १६ नयाँ विद्युतीय बस थप, महानगर यातायातको सेवा विस्तार

%e0%a4%9a%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%ac-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4

काठमाडौं । महानगर यातायात प्रा.लि.ले चक्रपथ रुटमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याउँदै आफ्नो सेवा विस्तार गरेको छ।

बुधबारदेखि सञ्चालनमा आएका यी ३३ सिट क्षमताका बसहरूले करिब ७० यात्रु बोक्न सक्ने क्षमता राख्छन्। आरामदायी सिट, आधुनिक सुरक्षा प्रणाली र उभिएर यात्रा गर्ने यात्रुका लागि समेत सुविधा हुने गरी बसहरू डिजाइन गरिएको कम्पनीले जनाएको छ।

चीनबाट आयात गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने बताइएको छ। प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले विद्युतीय सवारीलाई भविष्यको यातायात प्रणालीका रूपमा विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सञ्चालन खर्च कम भएकाले दीर्घकालीन रूपमा यो लाभदायक देखिएको बताए।

महानगर यातायातले हाल उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ, जसमा ५० भन्दा बढी विद्युतीय सवारीसाधन रहेका छन्।