नेपालको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको एआईआईबीसँग आग्रह
दोहा । अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले नेपालमा पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार गर्न आग्रह गरेका छन्।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गर्दै नेपालमा लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण र सहुलियतपूर्ण वित्तीय स्रोतको पहुँचका विषयमा छलफल गरेका हुन्।
भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा एआईआईबीबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले परियोजना तयारीका लागि एआईआईबीको प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड मार्फत अनुदान सहायता उपलब्ध गराउन सकिने बताएकी छन्। उक्त विशेष कोषअन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध हुने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराउन सकिने सम्भावनाबारे पनि उनले धारणा राखेकी छन्।
भेटमा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा अघि बढिरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययनलाई शीघ्र अघि बढाउन आग्रह गरेका छन्। साथै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका छन्।
वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा एआईआईबीको स्रोत परिचालन गर्न आग्रह गरेका छन्।
नेपालका पूर्वाधार आयोजनामा लगानी बढाउन एआईआईबीको आफ्नै स्रोतसँगै अन्य विकास साझेदार तथा दातृ निकायका स्रोतसमेत परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले बैंकसँगको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्। भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।