दृष्टिविहीन र अशक्तको पीडा : भत्ता र सहानुभूतिले कति दिन धान्नु?

visually-impaired-disabled-struggle-pashupati-allowance

पशुपतिनाथ मन्दिर परिसरको खुला ठाउँमा गीत-भजन गाएर जीविका चलाइरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक गुजारादेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म थुप्रै कठिनाइ भोग्नुपरेको बताएका छन् ।

उनीहरू वृद्धभत्ता र सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन धान्दै आए पनि यसले आधारभूत आवश्यकता समेत पूरा नहुने गुनासो गरेका छन् ।

गौरीघाट क्षेत्रमा बस्दै आएकी खगिसरा नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुला ठाउँमा बसेर भजन गाउने गरेकोमा हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताइन् । भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

‘२१ सय भत्ताले मात्रै कहाँ पुग्छ र ? घरभाडा दुई-चार दिन ढिलो भयो भने घरधनीले कोठाको सामान मिल्काइदिने वा गाली गर्छन्,’ उनले दुखेसो पोखिन् ।

उनले पोखरा, काठमाडौं, भैरहवा र बुटवलमा समेत आँखा परीक्षण गराएकोमा चिकित्सकले आँखाको नसासमेत सुकेको बताएको जानकारी दिइन् । उनका अनुसार आठ वर्षको उमेरदेखि दृष्टि कमजोर हुन थालेपछि उनले कक्षा पाँचसम्म मात्र पढ्न सकेकी थिइन्, र त्यसयता दृष्टि क्रमशः घट्दै गएको बताइन् ।

‘म उज्यालो मात्रै छुट्याउन सक्छु । बाटोमा हिँड्दा अनुमानकै भरमा हिँड्छु । कतिबेला ठोक्किने वा खाल्डोमा पर्ने थाहा हुँदैन । जसले भोगेको छ, उसैलाई यसको पीडा थाहा हुन्छ,’ उनले आफ्नो अवस्था बताइन् ।

एक्लै बसेर दैनिक काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अरूको व्यवहारले शारीरिकभन्दा मानसिक पीडा बढी हुने गरेको सुनाइन् ।