७४ लाख ठगीको शिकार भएको दाबीगर्दै सरिता कार्कीको न्यायको माग

udayapur-sarita-karki-fraud-case-land-auction-allegation

उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।

कार्कीले शनिबार पत्रकार सम्मेलन आयोजना गरी पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिकास्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएकी थिइन् । तर जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको उनले बताइन् ।

उनका अनुसार यस विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो र अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ तथा उनकी आमा च्याउँकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गर्ने आदेश दिएको थियो । उमामाया तामाङविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको उनले जानकारी दिइन् ।

तर अदालतको यस्तो आदेश हुँदाहुँदै पनि पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, च्याउँकीमाया तामाङ र ज्योति विकास बैंकको मिलेमतोमा जग्गा लिलाम प्रक्रिया अघि बढाइएको कार्कीको आरोप छ । लिलामको जानकारी पाएपछि आफूहरू ज्योति विकास बैंकको नेपालटार शाखामा पुगी ध्यानाकर्षण गराउँदा दोस्रो रोक्कावाल पक्षका हैसियतले घरजग्गा सकार्न पाउनुपर्ने माग राखेको तर बैंकले लिलाम गर्ने बेला जानकारी गराउने झुटो आश्वासन दिएको उनको दाबी छ ।

कार्कीका अनुसार बैंकले झुट्टा आश्वासन दिएर तीन महिनापछि कुनै सूचना नै नदिई लिलाम प्रक्रिया सम्पन्न गरी पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाकै नाममा सम्पत्ति सकार गराइदियो । उनले यस घटनाको निष्पक्ष छानबिन गरी संलग्न सबैमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।

यस विषयमा दुर्गा प्रसाईंको वार्ता समिति सदस्य कुमार बस्नेतले कानुनी प्रक्रिया पूरा गरेर पीडित अगाडि बढ्दा पनि न्याय नपाउनु कानुनी राज्यको खिल्ली उडाएको टिप्पणी गरे भने जेनजी लक्ष्मी देवीले जनताले ठूलो आस गरेको वर्तमान सरकारले समेत पीडितको पक्षमा काम नगरेको आरोप लगाइन् । हालै पीडितले दुर्गा प्रसाईंको पत्रकार सम्मेलनमा समेत आफ्नो पीडा व्यक्त गरेकी थिइन् ।