त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जना कर्मचारीलाई सकुशल उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार हुनेमा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह रहेका छन् ।
प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याइएको जानकारी दिइन् ।
उनका अनुसार संयुक्त खोज तथा उद्धार टोलीले शुक्रबार सुरुङबाट एक जनाको शवसमेत निकालेको छ । सुरुङभित्र अझै अन्य व्यक्ति रहे–नरहेको यकिन हुन सकेको छैन । टोलीले ड्रिलिङ गर्दै सुरुङभित्र थप व्यक्तिको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ ।
सुरुङभित्र उद्धारका लागि आवश्यक भारी उपकरण घटनास्थलसम्म लैजान सडक तथा भू–भागको अवस्थाका कारण कठिनाइ भएको प्राधिकरणले जनाएको छ । दलदलयुक्त जमिनमा भारी मेसिन धसिने समस्या आएपछि दुई पटक प्रयास गर्दा पनि उपकरण घटनास्थलसम्म पुर्याउन नसकिएको हो ।
अहिले आवश्यक मेसिनका पार्टपुर्जा छुट्टाछुट्टै ल्याएर घटनास्थलमै जडान गर्ने तयारी भइरहेको छ । प्राविधिक रूपमा सम्भव वैकल्पिक विधि प्रयोग गर्दै सुरुङभित्र खोज तथा उद्धार कार्य जारी राखिएको प्राधिकरणले जनाएको छ ।
त्रिशूली–३ ‘ए’ लगायत अन्य जलविद्युत् आयोजनामा पनि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरेर खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ । हराइरहेका अन्य नागरिकलाई समेत सकुशल उद्धार गर्न सकिनेमा प्राधिकरण आशावादी रहेको जनाएको छ ।
यसैबीच चीनमा रोकिएका थप १५५ जना नेपालीको नामावली चिनियाँ पक्षबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । यसअघि बिहीबार चीनमा रोकिएका ११३ जना नेपाली नेपाल फर्किएका थिए ।
थप १५५ जनामध्ये १०९ जना पुरुष र ४६ जना महिला छन् । प्रारम्भिक विवरणअनुसार उनीहरूमध्ये १४५ जना रसुवा, एक जना धादिङ र नौ जना काठमाडौंका रहेका छन् । नामावली प्राप्त भए पनि विस्तृत विवरण भने अझै प्राप्त नभएको प्राधिकरणले जनाएको छ । नामावली भेरिफाइ गरेर सार्वजनिक गरिने बताइएको छ ।
चीनबाट फर्कने नेपालीको व्यवस्थापनका लागि प्राधिकरणको क्लस्टरअन्तर्गत १५ वटा मोबिलाइजेसन टिम परिचालन गरिएको छ । क्याम्प व्यवस्थापन टोलीले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरूलाई राख्ने स्थान र आवश्यक व्यवस्थापनको तयारी गरिरहेको छ ।
प्राधिकरणका अनुसार हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना रहेका छन् ।
रसुवामा बाढीबाट भएको क्षति र आवश्यक स्रोत पहिचान गर्न गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्राधिकरणले उक्त प्रतिवेदन प्रारम्भिक आँकलन मात्र भएको र यसलाई विस्तृत क्षति विवरणका रूपमा लिन नहुने स्पष्ट पारेको छ ।
प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ ।
त्यस्तै ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण र सात वटा आंशिक रूपमा क्षतिग्रस्त छन् । स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा संस्थामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ । यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउने प्रारम्भिक आँकलन गरिएको छ ।
बाढीले पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत असर पुर्याएको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखासमेत प्रभावित भएका छन् ।
ऊर्जा क्षेत्रमा ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।