सन् २०२६ को जुनमा पर्यटक आगमनमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
0 MIN READ
काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटक संख्यामा गत वर्षको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
गत वर्ष सोही महिनामा ७६ हजार ४२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसैगरी कोभिड–१९ महामारीअघि पर्यटन गतिविधि उच्च रहेको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो, जसको तुलनामा हेर्दा यस वर्ष २२.०१ प्रतिशतले वृद्धि देखिएको छ।
जुन महिनामा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो। मुख्य स्रोत बजारमध्ये एक्लै भारतबाट ४१ हजार ८०९ पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १६ हजार १५२ जना (कुल आगमनको १७.६८ प्रतिशत) नेपाल आएका छन्, जसमा चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटक समावेश छन्।
युरोपबाट कुल १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जसमा बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ जना रहेका छन्। अमेरिकी महादेशबाट ६ हजार ९५४ पर्यटक (कुल आगमनको ७.६१ प्रतिशत) नेपाल आएका छन्, जसमध्ये संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ र ब्राजिलबाट २१९ पर्यटक समावेश छन्।
यसैगरी ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ र न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन्। साथै अफ्रिकाबाट ६७४ र मध्यपूर्वबाट २९२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्लो समयमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा भएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार आइरहेको हो।
बोर्डले आगामी पर्यटन सिजनलाई ध्यानमा राखी भारत, चीन, अमेरिका, युरोप लगायतका प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।