थ्री स्टार हाइड्रोपावरले १ः१ हकप्रद सेयर ल्याउने, तीन वर्षको साधारणसभा एकैपटक

three-star-hydropower-to-issue-100-percent-right-share

थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभाको प्रमुख एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर (१ः१) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव राखिएको छ। प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ।

हाल थ्री स्टार हाइड्रोपावरको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रदबाट सोही बराबरको थप पुँजी जुटेपछि कम्पनीको चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

तर साधारणसभाबाट प्रस्ताव पारित भएलगत्तै हकप्रद सेयर निष्कासन भने हुने छैन। कम्पनीले विद्युत् नियमन आयोगलगायत सम्बन्धित निकायबाट आवश्यक सहमति तथा नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्र हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ।

तीन वर्षका वित्तीय विवरण पारित हुने

साधारणसभामा आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव राखिएको छ। त्यसैगरी तीनवटै आर्थिक वर्षका वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण पनि अनुमोदन गरिनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षक तथा उनीहरूको पारिश्रमिक अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

कम्पनीले एक महिलासहित तीन जना सञ्चालक निर्वाचित गर्ने तथा सञ्चालक समिति गठनसम्बन्धी प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ।

पूँजी संरचना संशोधनको प्रस्ताव

विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना परिवर्तन गर्ने, अधिकृत तथा जारी पुँजी संशोधन गर्ने र हकप्रद सेयर निष्कासनसँग सम्बन्धित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ।

नियामक निकायबाट आवश्यक निर्देशन वा सुझाव प्राप्त भएमा सोहीअनुसार कम्पनीका कागजात तथा प्रस्ताव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा राखिएको छ।

असोज १५ मा बुक क्लोज

साधारणसभा प्रयोजनका लागि थ्री स्टार हाइड्रोपावरले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम सेयरधनीले साधारणसभामा सहभागी हुन, छलफल गर्न तथा मतदान गर्न पाउनेछन्।

कम्पनीले प्रस्तावित हकप्रद सेयर निष्कासनका लागि भने नियामकीय स्वीकृति प्राप्त भएपछि छुट्टै बुक क्लोज मिति घोषणा गर्ने जनाएको छ।