गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचान
1 MIN READ
सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद क्षयरोगी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित उक्त कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित एक्स–रे प्रविधिको प्रयोग गरी स्थानीयवासीको क्षयरोग परीक्षण गरिएको थियो।
स्वास्थ्य चौकीकी इन्चार्ज रीता कुमारी सिंहका अनुसार कार्यक्रममा ७५ जनाले निःशुल्क एक्स–रेसहितको स्वास्थ्य परीक्षण गराएका थिए, जसमध्ये ४ जनामा क्षयरोगका लक्षण शंकास्पद देखिएको छ।
इन्चार्ज सिंहले शंकास्पद देखिएका व्यक्तिहरूको थप प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि स्वास्थ्य मापदण्डअनुसार उपचार प्रक्रिया अघि बढाइने जानकारी दिइन्। सरकारले उपलब्ध गराउने निःशुल्क क्षयरोग उपचार सेवाअन्तर्गत नै उनीहरूको उपचार हुने उनले बताइन्।
यो कार्यक्रम गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नगरस्तरीय योजनाअन्तर्गत सञ्चालन गरिएको हो। वडा नम्बर–७ ले क्षयरोग निवारण कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।
वडा अध्यक्ष ठाकुरका अनुसार क्षयरोगलाई समयमै पहिचान गरी उपचारमा पुर्याउनु नै यस अभियानको मुख्य लक्ष्य हो। उनले यस्ता समुदायमूलक स्वास्थ्य कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउँदै क्षयरोगका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा गई परीक्षण गराउन सबैमा आग्रह गरे।
स्थानीयवासीको उल्लेखनीय सहभागितामा सम्पन्न यो कार्यक्रमले समुदायमा क्षयरोगसम्बन्धी चेतना बढाउनुका साथै समयमै रोग पहिचान गरी संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने विश्वास गरिएको छ। स्थानीयवासीले यसलाई स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने प्रभावकारी पहलका रूपमा लिएका छन्।