तातोपानी नाका बन्द हुँदा नेपाल–चीन व्यापार संकटमा

tatopani-border-closure-nepal-china-trade-crisis

लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर रूपमा प्रभावित भएको छ। विशेषगरी मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि प्रभावकारी रूपमा बन्द हुँदा चीन र नेपाल दुवैतर्फ अर्बौं रुपैयाँ बराबरका सामान अलपत्र परेका छन्। यसबाट व्यवसायीको लगानी जोखिममा पर्नुका साथै सरकारी राजस्व संकलनमा समेत असर परेको हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताएका छन्।

पराजुलीका अनुसार डाक्लाङ र इको क्षेत्रमा गएको पहिरोका कारण तातोपानी नाकाबाट आयात–निर्यात ठप्प छ। चीनतर्फ, सीमाक्षेत्र तथा नेपालका भन्सार यार्ड र गोदाममा ठूलो परिमाणमा सामान रोकिएका छन्। तातोपानी नाका बन्द भएपछि आयातको चाप रसुवागढीतर्फ बढ्दा ढुवानी भाडा, डिटेन्सन, डेमरेज र अन्य लजिस्टिक खर्चसमेत बढेको उनले बताए।

चाडपर्व लक्षित सामान लामो समयदेखि बाटोमै रोकिँदा व्यवसायी थप चिन्तित छन्। दशैं, तिहार र तीजका लागि ल्याइएका सामान समयमा बजारमा पुग्न नसके व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने र त्यसको असर उपभोक्ता मूल्यमा समेत पर्न सक्ने पराजुलीको भनाइ छ।

नेपाल–चीन व्यापारलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप उत्तरी नाका सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन्। लामाबगर, गोरखा र हुम्ला क्षेत्रका सम्भावित नाकाको विकाससँगै सडक, भन्सार यार्ड, आईसीडी, पार्किङ र अन्य लजिस्टिक पूर्वाधार सुधार गर्नुपर्ने उनको भनाइ छ।

पराजुलीले चीनमा नेपाली उत्पादनका लागि ठूलो बजार सम्भावना रहे पनि नेपालको उत्पादन क्षमता, गुणस्तरीय प्रयोगशाला र निर्यात पूर्वाधार कमजोर भएकाले त्यसको पर्याप्त लाभ लिन नसकिएको बताए। कृषि उत्पादन, चिया, हस्तकला तथा अन्य नेपाली वस्तुको निर्यात बढाउन उत्पादन र पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले बताएका छन्।