कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित, २२ लाखभन्दा बढी रोजगारी सिर्जना
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सञ्चालनको एक दशक पूरा गर्ने क्रममा कृषि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। प्रतिनिधिसभाअन्तर्गत सम्बन्धित समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले हालसम्म १६ लाख ७८ हजार घरधुरी प्रत्यक्ष रूपमा कार्यक्रमबाट लाभान्वित भएको जानकारी दिए। उनका अनुसार कृषि उत्पादन, यान्त्रीकरण, पूर्वाधार निर्माण, बजार पहुँच तथा रोजगारी सिर्जनामार्फत कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन योगदान पुर्याएको छ। निर्देशक श्रेष्ठले कार्यक्रम सुरु भएदेखि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिँदै प्रारम्भिक रूपमा आयोजनाको अनुमानित लागत भने १ खर्ब ३० अर्ब रुपैयाँ रहेको बताए। आवश्यक स्रोतको पूर्ण व्यवस्था हुन नसकेकाले केही लक्ष्यहरू अपेक्षित रूपमा हासिल गर्न कठिन भएको उनले उल्लेख गरे। बजेट अभावका कारण सबै योजनाहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसके पनि कार्यक्रमको समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको उनको भनाइ थियो। कार्यक्रमअन्तर्गत देशभर २१ वटा सुपर जोन, ३०० वटा जोन, १ हजार ५ सय वटा ब्लक तथा १५ हजार वटा पकेट क्षेत्र स्थापना गर्ने लक्ष्य लिइएको थियो। निर्देशक श्रेष्ठका अनुसार सुपर जोन र ब्लक निर्माणको प्रगति लक्ष्यभन्दा सन्तोषजनक रहे पनि जोन र पकेट क्षेत्र विस्तार भने अपेक्षाअनुसार हुन सकेको…