वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
0 MIN READ
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट पारित शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी विस्तार गर्ने सुधार कार्यक्रम रहेको छ। सोही व्यवस्थाअनुरूप यो सेवा लागू गरिएको हो।
बिरामीको उपचार खर्च कम गर्ने र सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ।
मन्त्री मेहताले सरकारी अस्पताल आउने बिरामीले आवश्यक औषधि सजिलै र सस्तो मूल्यमा अस्पतालबाटै पाउन सक्ने व्यवस्था मिलाउन पहिल्यै निर्देशन दिइसकेकी थिइन्। सोही निर्देशनबमोजिम अब वीर अस्पताल र ट्रमा सेन्टरमा पनि यो सेवा सुरु भएको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले बजार मूल्यभन्दा सस्तोमा आवश्यक औषधि सहजै प्राप्त गर्न सक्नेछन्। साथै, शासकीय सुधार कार्यसूचीअनुरूप देशभरका सबै सरकारी अस्पतालमा क्रमशः सुलभ फार्मेसी सेवा विस्तार गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ।