सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ सार्वजनिक, प्रेमिल गीतले बटुल्दै चर्चा
नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ। गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ।
‘सोल्टिनी सेवारो’ गीतमा शब्द तथा संगीत एनिस एन्जल राईको रहेको छ भने गीतमा सुनिल थापा मगरले स्वर दिएका छन्। संगीत संयोजन राजु कार्कीले गरेका हुन्। प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई समेटिएको गीतले आधुनिक प्रस्तुति र सांस्कृतिक स्वादलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतले विशेषगरी राई–लिम्बू समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई संगीत तथा भिडियोमार्फत आकर्षक रूपमा चित्रण गरेको छ। यसमा प्रेमकथासँगै समकालीन युवा पुस्ताको भावना र जीवनशैलीलाई पनि समेट्ने प्रयास गरिएको छ।
गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले सम्पन्न गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्। प्राविधिक पक्षमा समेत गुणस्तरीय प्रस्तुति दिने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।
गीतको भिडियो मकवानपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा गायक सुनिल थापा मगर स्वयं मुख्य भूमिकामा देखिएका छन् भने अभिनेत्री रेबिका मगरले साथ दिएकी छन्। नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन् भने क्यामेरा तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठले सम्हालेका छन्। श्रृङ्गार प्रिया मगरले गरेकी छन् भने भिडियो निर्देशन, सम्पादन तथा कलर ग्रेडिङको जिम्मेवारी एकान्त मगरले निर्वाह गरेका छन्।
सांगीतिक प्रस्तुति, सांस्कृतिक झल्को र प्रेमिल कथावस्तुको संयोजनका कारण ‘सोल्टिनी सेवारो’ नेपाली संगीतप्रेमीमाझ लोकप्रिय बन्दै गएको छ।