सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा

singha-durbar-affordable-food-sale-center

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन् । उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न सक्नेछन् । कम्पनीको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको केन्द्रमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ ।

बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । सरकारी स्वामित्वको कम्पनीमार्फत सहज, गुणस्तरीय र सुलभ मूल्यमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सिंहदरबारमा बिक्री कक्ष सञ्चालनमा आएपछि त्यहाँ कार्यरत कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्तालाई समेत आवश्यक सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ ।