गायक अशोक दर्जीको प्रतिष्ठामाथि आघात, प्रहरीमा उजुरी

singer-ashok-darji-complaint-police-jhapa-video

झापा । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो प्रतिष्ठामाथि आघात पुर्‍याउने उद्देश्यले भिडियो बनाई सामाजिक सञ्जालमार्फत फैलाइएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।

उनले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दिँदै केही व्यक्तिले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भिडियो तयार पारी सार्वजनिक गरेको आरोप लगाएका छन् । उक्त घटनाले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा नकारात्मक असर पारेको भन्दै संलग्नहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।

अशोकका अनुसार करिब एक हप्ताअघि दुई व्यक्तिले आफूलाई “चोर” भन्दै आरोप लगाई कुटपिट गरेका थिए र त्यसैक्रममा भिडियो पनि खिचेका थिए । भिडियो हटाउन पटक–पटक अनुरोध गर्दा पनि नहटाइएको र बरु त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

झापा प्रहरीका अनुसार उजुरी दर्ता भइसकेको छ र घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको छ । तथ्य र प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।