गायिका आगन्तुक खरेलद्वारा काठमाडौंमा ‘प्रीटि सलून’ सुरु, अन्तर्राष्ट्रिय स्तरको सेवाको दाबी
काठमाडौं । संयुक्त अरब इमिरेट्समा गत ११ वर्षदेखि सञ्चालित ‘प्रीटि सलून’ ले अब काठमाडौंमा पनि सेवा विस्तार गरेको छ। गायिका आगन्तुक खरेलले शंखमुल, बागमती पुल नजिक वडा नम्बर ३१ मा यो सलून सुरु गरेकी हुन्।
आइतबार सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीको उपस्थितिमा खरेलकी छोरी आँचल पुनले रिबन काटेर सलूनको उद्घाटन गरिन्। त्यसपछि उपस्थित सेलिब्रेटीहरूले केक काटी उद्घाटन कार्यक्रमलाई थप रमाइलो बनाए।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भवनको तेस्रो तलामा रहेको यो सलूनले महिलाहरूका लागि आवश्यक सबै सौन्दर्य सेवा एकै ठाउँमा उपलब्ध गराउने खरेलले जनाइन्।
गुणस्तरीय सेवा, आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत ग्राहकको आवश्यकता अनुसार सेवा दिने रहेको खरेलले बताइन्। सलूनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरका साथै हाइड्रा फेशियल र लेजर ट्रीटमेन्ट जस्ता स्किन केयर सेवा पनि उपलब्ध छन्। छालासम्बन्धी समस्याका लागि चिकित्सक परामर्शको व्यवस्था पनि गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरका ब्रान्डका उत्पादन प्रयोग गरी सुरक्षित र भरपर्दो सेवा दिने दाबी खरेलले गरेकी छिन्। आबुधाबीको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय सेवा दिने उद्देश्यले प्रीटि सलून सञ्चालनमा ल्याइएको उनको भनाइ छ।