पूँजीबजारमैत्री मौद्रिक नीति ल्याउन शेयर लगानीकर्ता संघको राष्ट्र बैंकसँग पाँच बुँदे सुझाव

share-investors-association-five-suggestions-monetary-policy

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउनका लागि शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ।

नेपालको पूँजीबजारलाई अझ प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यका साथ संघले विभिन्न नीतिगत सुधारका प्रस्तावहरू अगाडि सारेको हो। संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत छुट दिन, लकइनसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न र पर्याप्त पूँजी, तरलता तथा जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकसम्मत ढंगले शेयर बजारमा लगानी गर्न प्रोत्साहित गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न आग्रह गरेको छ।

यसैगरी लघुवित्त संस्थाको लाभांश वितरण व्यवस्थामा सुधार ल्याउन, शेयर धितो कर्जालाई जोखिममा आधारित प्रणालीमा परिणत गर्न र गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पूँजीबजारमा सहज प्रवेश तथा लगानी फिर्ताको सहज वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव पनि संघले दिएको छ।

कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूका दीर्घकालीन कोषलाई स्पष्ट जोखिम व्यवस्थापन मापदण्डका आधारमा पूँजीबजारमा थप सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ।

संघले पेस गरेका पाँच प्रमुख सुझाव:

  • बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजार लगानीमा थप नीतिगत लचकता प्रदान गर्ने
  • लघुवित्त संस्थाको लाभांश वितरण व्यवस्थामा सुधार गर्ने
  • शेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउने
  • गैरआवासीय नेपालीका लागि लगानी प्रवेश तथा फिर्ता प्रक्रिया सहज बनाउने
  • संस्थागत दीर्घकालीन कोषहरूको सक्रिय परिचालनका लागि नीतिगत सहजीकरण गर्ने