स्काउटलाई राजनीतिबाट मुक्त गर्दै शुद्धीकरण जरुरी : सांसद खत्री

scout-politics-free-purification-rajiv-khatri

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले नेपाल स्काउटलाई राजनीतिक प्रभावबाट मुक्त गरी शुद्धीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिका प्रमुख आयुक्त सन्तोषकुमार थापा तथा नवनियुक्त सदस्यहरूको दीक्षान्त समारोहमा बोल्दै सांसद खत्रीले नयाँ कार्यसमितिलाई बधाई दिँदै अब काम गर्ने बेला आएको बताए ।

उनले भने, निर्वाचित भएका सबैलाई बधाई र शुभकामना छ, सन्तोषकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भइसकेको छ । तर अब बधाई र शुभकामना साट्ने फुर्सद नभई काम गर्नुपर्ने अवस्था रहेको उनले जनाए ।

समय व्यवस्थापन र जिम्मेवारी पूरा गर्नु स्काउटका लागि ठूलो चुनौती रहेको बताउँदै खत्रीले सामान्यतया दिनको २४ घण्टा हुने तर स्काउटका लागि भने त्यसलाई ३६ घण्टा जत्तिकै प्रभावकारी बनाउनुपर्ने पुरानो भनाइ सम्झे । वास्तवमा त्यही २४ घण्टालाई उपयोगी ढंगले विस्तार गर्नु नै हालको चुनौती भएको उनले उल्लेख गरे ।

आगामी ११ महिनाभित्र ७५३ स्थानीय तह, सातै प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने दायित्व रहेको उनले बताए । जिम्मेवारी हस्तान्तरण मात्र पर्याप्त नभई स्काउटको सुधार र शुद्धीकरण पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो ।

धेरै वर्षदेखि स्काउटिङ राजनीतिको घेराभित्र घुमिरहेको उल्लेख गर्दै खत्रीले यसलाई शुद्ध पार्नु नयाँ कार्यसमितिको दायित्व भएको र यसपटक स्काउटलाई साँच्चिकै स्काउटकै रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए ।