सर्लाहीमा युवकद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास
काठमाडौं । सर्लाहीका एक युवकले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटना भएको छ ।
सर्लाहीको गौडेता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले यो कदम चालेका हुन् । प्रहरीका अनुसार घरायसी विवादपछि उनी घरबाट निस्केर सडकमा गएका थिए, त्यसपछि नै उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन ।
घाइते मण्डललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ । यसका लागि स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहसँग सहयोग माग गरेको थियो । सांसद सिंहले सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी दिँदै घाइतेलाई काठमाडौं ल्याई उपचार गराउने पहल भइरहेको बताएका छन् ।