सर्लाहीमा अनुदानको मल कालोबजारी, तीन पक्राउ
सर्लाही । सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मलंगवा क्षेत्रमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो, जसक्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोरबाट अनुदानित डीएपी मल तोकिएभन्दा बढी मूल्यमा बिक्री भइरहेको फेला परेको हो ।
प्रहरीले मलंगवा नगरपालिका–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई नियन्त्रणमा लिएको छ । उनीहरूले अनुमतिबिनै खेतीमा प्रयोग हुने डीएपी मल प्रतिबोरा ३५ सय रुपैयाँका दरले बिक्री गरिरहेको बताएका थिए । प्रहरीले तुरुन्तै पसलमा चेकजाँच गर्दा त्यहाँबाट डीएपी लेखिएका ५०–५० किलोका चार बोरा मल बरामद भएको थियो ।
अनुसन्धानका क्रममा उक्त मल मलंगवा नगरपालिका–३ का २८ वर्षीय राहुल गुप्ताको पसलबाट प्रतिकिलो ३२ सय रुपैयाँमा किनेर ल्याइएको र ३५ सयमा बेचिने गरेको खुलेको छ । त्यसपछि गुप्ताको पसलमा खानतलासी गर्दा त्यहाँबाट थप सात बोरा डीएपी मल बरामद गरिएको थियो ।
बरामद मलसहित तीनैजनालाई पक्राउ गरी कालोबजारीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले उनीहरूलाई सात दिनको म्याद थप गरिदिएको प्रहरीले जनाएको छ ।