सर्लाहीमा सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

sarlahi-administration-appeals-peace-social-harmony

सर्लाही । देशका विभिन्न ठाउँमा देखिएका असहज र संवेदनशील घटनाक्रमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जारी गरेको सार्वजनिक अपिलमा जिल्लाको भाइचारा, सांस्कृतिक ऐक्यबद्धता र सद्भावलाई जोगाउँदै सबैलाई संयम अपनाउन आग्रह गरिएको छ ।

sarbajanik-appeal

जातीय, धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका भ्रामक तथा आपत्तिजनक सामग्री र भिडिओ सामाजिक सञ्जालमा प्रसार वा सेयर नगर्न प्रशासनले अनुरोध गरेको छ । त्यस्ता क्रियाकलापमा संलग्न भई सद्भाव बिगार्ने कार्य गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि दिइएको छ ।

कुनै पनि विवाद वा असमझदारी देखा परेमा संवाद र वार्ताबाटै समाधान खोज्न प्रशासनले सबै पक्षलाई आग्रह गरेको छ । साथै जिल्लामा शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न पनि अपिल गरिएको छ ।

शंकास्पद वा अवाञ्छित गतिविधिबारे जानकारी पाइए तत्काल सम्बन्धित निकायलाई सूचना दिन प्रशासनले अनुरोध गरेको छ । अपिलमा भनिएको छ— साझा प्रयास, संयमता र परिपक्वताले नै भाइचारा, सांस्कृतिक एकता र दिगो शान्ति कायम रहने विश्वास लिइएको छ ।