सर्लाहीमा एक महिनामा ५० हराए, २३ मात्रै फेला

sarlahi-50-people-missing-in-one-month-only-23-found

सर्लाही । सर्लाही जिल्लामा विगत एक महिनाको अवधिमा ५० जना व्यक्ति हराएको तथ्य सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको मासिक प्रगति प्रतिवेदनअनुसार हराएका ५० मध्ये हालसम्म २३ जनालाई मात्र फेला पारिएको छ, जबकि बाँकी २७ जनाको हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

प्रहरी विवरणअनुसार हराउनेमध्ये १७ महिला, ३ बालक, २६ बालिका र ४ ज्येष्ठ नागरिक रहेका छन्। यस अवधिमा कुनै पनि पुरुष हराएको उजुरी दर्ता भएको छैन, र हराउनेहरूमध्ये बालिकाको सङ्ख्या सबैभन्दा उच्च रहेको छ।

यसअघि असार महिनामा प्रहरीले ९ महिला, १ बालक, १२ बालिका र १ ज्येष्ठ नागरिक गरी कुल २३ जनालाई फेला पारेको जनाएको थियो।

हराउने घटनामा बालिकाको सङ्ख्या उच्च देखिएपछि अभिभावकीय निगरानी, बालबालिका सुरक्षा तथा सामुदायिक सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ। प्रहरीले खोजी अभियानलाई प्राथमिकतामा राखेको बताएको छ।

सर्लाही भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले खुला सीमाको दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकायहरूबीच समन्वय थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको सुझाव छ।