रोहिंग्या, पाकिस्तानी–सोमाली शरणार्थी प्रवेश बढ्यो : आईजीपी कार्की

rohingya-pakistani-somali-refugees-nepal-entry-igp-karki

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीहरूको अवैध आवागमन र कानूनी क्षेत्राधिकारको सीमितताले सीमा सुरक्षामा ठूलो चुनौती खडा गरेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रहरी प्रमुख कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी विषयमा प्रहरीले सामना गर्नुपरेका कठिनाइहरूबारे जानकारी दिए । उनका अनुसार भारतीय सीमा हुँदै रोहिंग्या, पाकिस्तानी तथा सोमाली मूलका शरणार्थीहरू अवैध रूपमा नेपाल छिर्ने क्रम पछिल्लो समय बढेको छ ।

देशभरका विभिन्न ठाउँमा समूह बनाई बसोबास गर्ने यस्ता व्यक्तिहरू लागुऔषध कारोबारजस्ता संवेदनशील गतिविधिमा संलग्न भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

कार्कीका अनुसार भारततर्फबाट प्रवेश गरी विभिन्न ठाउँमा बस्न खोज्ने रोहिंग्यालगायत अन्य विदेशी नागरिकहरूलाई पहिचान गरी नियन्त्रणमा लिई सरोकारवाला निकायमा हस्तान्तरण गर्ने काम भइरहेको छ, र यीमध्ये केही लागुऔषध कारोबारमा मुछिएको पाइएको छ ।

बैठकमा उनले दक्षिणी सीमामा मल किनबेचसँग जोडिएको तस्करी प्रकरणमा केही नेपाली नागरिक भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी पनि दिए, जसका लागि प्रहरी–प्रहरी समन्वय र कूटनीतिक माध्यमबाट प्रक्रिया अघि बढाइएको र चाँडै रिहा हुने सम्भावना रहेको बताए ।

क्षेत्राधिकार बाहिरका फौजदारी घटनाहरूमा अनुसन्धान गर्न कानूनी अवरोध आउने गरेको उल्लेख गर्दै कार्कीले चोरीजस्ता मुद्दामा यही समस्या बारम्बार देखिने गरेको जनाए ।

हातहतियार तस्करी, लागुऔषध ओसारपसार, साइबर ठगी, वैदेशिक रोजगारीको नाममा हुने ठगी, ओटीपीमार्फतको बैंकिङ फ्रड, मानव बेचबिखन र अनलाइन सट्टेबाजीजस्ता गतिविधिलाई प्रहरीले बढ्दो सुरक्षा चुनौतीका रूपमा लिएको छ । यिनलाई नियन्त्रण गर्न नियमित गस्ती, संयुक्त सुरक्षा अभियान, र ड्रोन, स्क्यानर तथा प्रशिक्षित कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग बढाइएको उनले जानकारी दिए ।