निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना
काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्रै भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।
असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको अर्को घटनामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पताल पठाइएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित साँगेताडा क्षेत्रमा असार १८ गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जनाए । कर्णाली नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको उनले नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा बताए, किनकि गाडी वा यात्रु अड्किन सक्ने निश्चित स्थान अझै फेला नपरेको उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब चारसय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो । दुर्घटनामा एक जनाको मृत्यु पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना बेपत्ता छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली परिचालित छ, जसमा सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोर पनि सामेल छन् ।
यसैबीच कर्णाली दुर्घटनापछि बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । लगातार भइरहेका यी दुर्घटनाले वर्षायाममा यात्रा सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको प्रहरीले बताएको छ ।
सडक दुर्घटनाका कारणबारे नेपाल न्यूज बैंकसँगको संवादमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने र दृश्यता कम हुनेजस्ता कारणले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्ने बताए । यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ, लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण गर्न उनले सवारी चालकलाई आग्रह गरे ।
आवश्यक सावधानी अपनाएमा वर्षायाममा हुने अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिने सुवेदीको भनाइ छ । यस्ता दुर्घटना न्यूनीकरणका लागि संसदमा पनि समय-समयमा आवाज उठिरहेको भए तापनि सरकारले तत्काल गर्नुपर्ने काममा भने बेवास्ता गरेको पाइएको छ ।