रसुवा र नुवाकोटमा उद्धार तीव्र पार्दै सेना र अन्तर्राष्ट्रिय टोली
विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना तथा विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार अर्थात् एचएडीआर अभियान जारी राखेका छन् । बाढीका कारण उर्लिएको तादी नदीमाथि नेपाली सेनाका सैन्य इन्जिनियरिङ टोलीले राष्ट्रिय सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्ने उद्देश्यले डोरीको पुल निर्माण गरिरहेका छन् ।
सडक तथा पुल संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सेनाले इन्जिनियरिङ तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । यससँगै प्रतिकूल मौसमका बीच प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन तथा अलपत्र परेका नागरिकको उद्धार गर्न हवाई उद्धार तथा राहत अभियान चौबिसै घण्टा सञ्चालन भइरहेको छ । नेपाली सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार अन्य निकायसँगको समन्वयमा नुवाकोट र रसुवाका अत्यधिक प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत वितरणका लागि करिब २० वटा हेलिकोप्टर परिचालन गरिएको छ । प्रतिकूल मौसम विकट हिमाली भूगोल तथा बाढीका कारण प्रयोग गर्न मिल्ने हेलिप्याडको अभावका बाबजुद हवाई टोलीले निरन्तर राहत सामग्री ढुवानी र उद्धार कार्य गरिरहेका छन् । सेनाले सार्वजनिक गरेका दृश्यमा साँघुरा हिमाली खोँच हुँदै जोखिमपूर्ण अवस्थामा हेलिकोप्टर सञ्चालन गरी विस्थापित परिवारसम्म राहत तथा सहायता पु¥याइएको देखाइएको छ । भोटेकोशी बाढीपछि विकसित घटनाक्रमबारे नेपाल प्रहरीले समेत ‘एक्स’मार्फत जानकारी सार्वजनिक गर्दै विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको जनाएको छ । यसैबीच भारतले नेपालमा सञ्चालन भइरहेको मानवीय सहायता तथा विपद् उद्धार अभियानमा निरन्तर सहयोग गरिरहेको छ । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यलाई अघि बढाउन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गर्दै सुरुङभित्र जम्मा भएको पानी निकाल्ने तथा सुरुङको भित्री भागमा थप गहिराइसम्म उत्खनन गर्ने काम गरेको छ ।
भारतीय टोली र नेपाली सुरक्षा निकायबीचको यो संयुक्त प्रयासले सीमापार विपद् प्रतिकार्य तथा प्राविधिक सहकार्यलाई थप बलियो बनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ‘एक्स’मा पोस्ट गर्दै स्थलमै प्राविधिक विशेषज्ञता उपलब्ध गराउनुका साथै आसपासका समुदायलाई मानवीय सहायता प्रदान गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । विशेषज्ञ टोलीले सुरुङभित्र जमेको पानी सफलतापूर्वक निकालेपछि कामदारको खोजीका लागि थप गहिराइसम्म उत्खनन गर्न तथा जोखिमयुक्त भागलाई सुरक्षित बनाउन सहज भएको छ । भारी मेसिन तथा उच्च क्षमताका उपकरणलाई सुरुङको मुखसम्म पु¥याउन इन्जिनियरिङ टोलीले अस्थायी पहुँच मार्गसमेत निर्माण गरिरहेको छ । प्राविधिक उद्धार तथा निर्माण कार्यसँगै भारतीय टोलीसँग आएका स्वास्थ्यकर्मीले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ । यसरी रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्तर्राष्ट्रिय सहयोगी टोलीले सडक तथा पुल पुनःस्थापना हवाई उद्धार राहत वितरण सुरुङ उद्धार प्राविधिक सहयोग र स्वास्थ्य सेवासहित बहुआयामिक मानवीय सहायता अभियानलाई तीव्रता दिएका छन् ।