भियतनाममा महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ अवार्ड’

rajeshkaji-shrestha-vietnam-outstanding-award

काठमाडौं। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहितको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेको छ। नेपाल र भियतनामबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध बलियो बनाउन र दुई देशबीचको सहकार्य बढाउनमा दिएको योगदानको कदर गर्दै भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षरसहित यो सम्मान दिइएको हो।

सम्मान ग्रहण गरेपछि महावाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनुपर्ने आवश्यकतामा जोड दिए। नेपाल बुद्धको जन्मभूमि र भियतनाम पनि धनी बौद्ध सम्पदा भएको देश भएकाले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सिधा हवाई सम्पर्क अत्यन्त जरुरी रहेको उनले बताए। यस्तो प्रत्यक्ष उडानले धार्मिक पर्यटनसँगै शैक्षिक सहकार्य र व्यावसायिक साझेदारी पनि विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।

साथै, सूचना प्रविधि, पर्यटन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा र लगानीजस्ता क्षेत्रमा नेपाल-भियतनामबीच ठूलो सहकार्यको सम्भावना रहेको उनले औंल्याए। यी क्षेत्रमा संयुक्त लगानी र साझेदारी गर्दा दुवै मुलुकले फाइदा लिन सक्ने उनको भनाइ छ।