July 11, 2026 0 MIN READ

राधास्वामी होल्डिङ सेन्टर बाढीले जलमग्न, व्यवस्थापन नगरेको भन्दै भूमिहीनको गुनासो

0 MIN READ
radhaswami-holding-center-flood-landless-complaint-kirtipur

कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा शुक्रबार रातिको वर्षापछि बाढी पसेर त्यहाँ अस्थायी रूपमा बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको जनजीवन प्रभावित भएको छ। होल्डिङ सेन्टरभित्र पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ भने बालबालिका, नवजात शिशु, ज्येष्ठ नागरिक तथा बिरामीहरू थप समस्यामा परेका छन्।

भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्ती हटाएर १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासनसहित होल्डिङ सेन्टरमा ल्याए पनि तीन महिना बितिसक्दा पनि कुनै दीर्घकालीन व्यवस्था नगरेको आरोप लगाएका छन्। उनका अनुसार अहिले पनि सयौं नागरिक अस्थायी बसोबासमै बस्न बाध्य छन् र उनीहरूको भविष्य अन्योलमा रहेको छ।

कामीले सरकारको स्पष्ट पुनःस्थापना योजना नहुँदा आफूहरूलाई जबरजस्ती अन्यत्र सार्ने प्रयास भइरहेको दाबी गर्दै स्थायी व्यवस्थापनबिना अर्को स्थानमा जान नसकिने बताएका छन्। उनका अनुसार हाल होल्डिङ सेन्टरमा २२० भन्दा बढी व्यक्ति बसोबास गरिरहेका छन्, जसमा ४७ जना बालबालिका, चार जना नवजात शिशु तथा वृद्धवृद्धा र विभिन्न रोगका बिरामीसमेत रहेका छन्।

लगातारको वर्षा र बाढीका कारण अस्थायी आवासको जोखिम थप बढेको भन्दै प्रभावित परिवारहरूले सुरक्षित बसोबास, आधारभूत सुविधा र दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्। उनीहरूका अनुसार उचित व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टर छोड्ने अवस्था नरहेको र सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।