राष्ट्रपति पौडेलको राष्ट्रका नाममा सम्बोधन : राष्ट्रिय एकतामा जोड

president-paudel-address-nation-flood-disaster

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका छन् । राष्ट्रपति पौडेलले आज अपराह्न साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । त्यसअघि उनले नुवाकोटको विदुर पुगेर बाढी प्रभावित नागरिकसँग भेट गरी उनीहरूको अवस्था र पीडाबारे जानकारी लिएका थिए ।

राष्ट्रपति पौडेलले २०८३ भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले असङ्ख्य मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधार बगाउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको बताए । विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न व्यक्ति तथा संस्थाप्रति उच्च सम्मान व्यक्त गरे । उद्धारमा खटिएका धेरैले आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर प्रभावित नागरिकको उद्धार गरिरहेको भन्दै राष्ट्रपति पौडेलले उनीहरूको साहस, समर्पण र सेवाभावलाई नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्वका रूपमा प्रशंसा गरे ।

कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थिति हराइरहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्न नहुने राष्ट्रपति पौडेलले बताए । परिवारका सदस्य तथा साथीभाइको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेमा विश्वस्त हुन उनले आग्रह गरे । अनिश्चितताको यो कठिन क्षणको पीडा सिङ्गो राष्ट्रले महसुस गरिरहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले नेपालमा रहेका विदेशी नागरिक पनि विपत्तिबाट प्रभावित भएको उल्लेख गर्दै उनीहरूप्रति समेत शोक व्यक्त गरेका छन् । नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्ने भन्दै प्रभावित विदेशी नागरिकका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति उनले आभार व्यक्त गरे ।

उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति विशेष ध्यान दिनुपर्ने उनले बताए । अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित हुनुपर्ने तथा नेपाली र विदेशी नागरिकका परिवारलाई आफ्ना प्रियजनबारे यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए ।

विपत्तिमा ज्यान गुमाएका नागरिकको पहिचान मर्यादा, सम्मान र करुणाका साथ गर्नुपर्ने राष्ट्रपति पौडेलले बताए । आवश्यकताअनुसार डीएनए नमूना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखेर मृतकको पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा आवश्यक रहेको बताए । पीडितका गुनासा तथा मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा लिन सरकार तथा सम्बन्धित निकायलाई उनले आग्रह गरे ।

राष्ट्रपति पौडेलले विपत्तिले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था देखाएको र विश्वव्यापी तापक्रम वृद्धिबाट उत्पन्न जोखिमप्रति गम्भीर हुनुपर्ने अवस्था सिर्जना गरेको बताए । अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न उनले आह्वान गरे ।

नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले हरेक पटक साहस, धैर्य, संयम र दृढताका साथ विपत्तिको सामना गरेको बताए ।

उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान गरे । अहिले विभाजन, एकअर्कालाई दोषारोपण वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको भन्दै उनले राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले विपद्पछिको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय भएको बताए । पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा राज्यका सबै तह र पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको सन्देश दिएका छन् । सम्बोधनको अन्त्यमा उनले अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन सबैलाई शक्ति र साहस प्राप्त होस् भन्ने कामना गर्दै जय नेपाल भनेका छन् ।