मलाई संघीयताविरोधी नठान्नुहोस्- प्रधानमन्त्रीको मधेशी नेतासँग आग्रह

pm-tells-madhesi-leaders-not-anti-federalism

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् ।

सुनसरीको घटनालगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले संघीयतालाई थप बलियो बनाउने र आवश्यक संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रदेशहरूलाई बलियो नबनाइएको र सुरक्षालगायतका जिम्मेवारी प्रदेशमा नभएकै कारण यस्ता घटना नियन्त्रण गर्न समस्या भएको भन्दै मधेशी नेताहरूले कुरा उठाएपछि प्रधानमन्त्री शाहले यसबारे प्रतिक्रिया दिएका थिए ।

बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले बलियो संघीयता निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए । “मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोस्, प्रदेश बलियो बनाउने र संरचनामा सुधार गर्ने कुरा मात्र गरेको हो” भन्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महतोले आफ्नो पार्टी संघीयताविरोधी नरहेको स्पष्ट पारे ।

बैठकमा प्रधानमन्त्रीले भइरहेका सबै सम्झौता पालना गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार प्रधानमन्त्रीलाई प्रदेशको विषयमा ध्यानाकर्षण गराइएको छ । सरकारलाई असफल बनाउन नखोजेको तर संघीयता बलियो बनाउनुपर्ने माग राखेको राउतले बताए । प्रदेशमा आफ्नै प्रहरी भएको भए यस्तो घटना नहुनसक्ने र स्थानीय भाषा पनि बुझिने बताउँदै नेपाली सेनामा मधेशीको सामूहिक प्रवेशको अवसर सिर्जना गर्नुपर्ने सुझाव पनि दिइएको राउतले जनाए ।