एमाले सांसद सिद्धिकीको प्रधानमन्त्रीलाई आग्रह : जनताप्रति गम्भीर बन्नुहोस्
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भई देश र जनताका विषयमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा नियमावली २०८३ ले हरेक सांसदलाई प्रधानमन्त्रीसँग सोझै प्रश्न सोध्ने अधिकार दिएको स्मरण गराइन् र यसले सरकारलाई थप जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन मद्दत गर्ने बताइन्।
सांसद सिद्धिकीका अनुसार प्रधानमन्त्री कुनै विशेष समूह वा सडकका होइनन्, बरु सम्पूर्ण देश र नेपाली जनताका प्रतिनिधि हुन् र सोहीअनुरूप उनले संसदमा आई देशको मान–मर्यादा र जनताको सम्मानबारे स्पष्ट अडान राख्नुपर्ने उनको भनाइ थियो। सांसदहरूले सरकारलाई खबरदारी मात्र नगरी सफल र बलियो बनाउन पनि भूमिका निर्वाह गर्ने बताउँदै उनले संसदप्रतिको सरकारको उत्तरदायित्व क्रमशः कमजोर बन्दै गएको आरोप लगाइन्।
उनले वर्तमान सरकारका सबै काम पूर्ण सफल भएको दाबी गर्न नसकिने बताउँदै जनताको मौलिक हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय लक्ष्य कार्यान्वयनमा सरकार चुकेको टिप्पणी गरिन्। सांसदको दृष्टिकोणबाट हेर्दा सरकारको काम उक्त लक्ष्यअनुरूप अघि बढेको नदेखिएको उनको भनाइ छ।
साथै उनले एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलिरहेको अनुसन्धानको प्रसंग उठाउँदै पर्याप्त प्रमाणबिना बारम्बार म्याद थपेर अनुसन्धान लम्ब्याउनु उपयुक्त नहुने धारणा राखिन्। अनुसन्धानपछि कुनै प्रमाण नफेला परेमा त्यसबाट हुने मानहानी र क्षतिको जिम्मेवारी सरकारले लिने हो कि होइन भन्ने प्रश्न पनि उनले उठाइन्।
अन्त्यमा उनले प्रधानमन्त्रीका हालैका सार्वजनिक अभिव्यक्तिहरूप्रति असन्तुष्टि व्यक्त गर्दै ती अभिव्यक्ति देशको हितविपरीत रहेको दाबी गरिन्।