July 13, 2026 0 MIN READ

राहदानी विभागको नयाँ प्रणाली सुरु, एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

0 MIN READ
passport-department-new-system-data-migration

काठमाडौं। राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको विभागले सोमबार जारी सूचनामार्फत असार २ गतेदेखि नयाँ प्रणाली लागू भएको जानकारी दियो। यसअन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको छ।

विभागका अनुसार नयाँ प्रणाली सञ्चालनको प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, सुस्तता वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्छ, जुन नयाँ प्रणालीको सुरुवाती अवस्थामा स्वाभाविक रहेको विभागको भनाइ छ।

सम्भावित समस्या समाधानका लागि प्राविधिक टोली, कर्मचारी र प्रणाली विकासकर्ता कम्पनीका विशेषज्ञहरू २४ सै घण्टा अनुगमन, परीक्षण र सुधारमा खटिरहेका छन्। विभागले देखिने समस्याको शीघ्र र दीर्घकालीन समाधान गर्न पूर्ण प्रतिबद्ध रहेको बताएको छ।

विभागले सुरुवाती चरणमा अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गर्दै आधिकारिक स्रोतबाट प्रकाशित सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ। नागरिकलाई चुस्त र विश्वसनीय सेवा दिन प्रतिबद्ध रहेको विभागले जनाएको छ।