गैर आवासीय नेपालीको अधिकारका लागि दशकौंको संघर्ष, अब कुर्न सकिन्न : रोजिना प्रधान राई

nrna-rojina-pradhan-rai-nepali-citizenship-rights

दुई तिहाइ नजिकको सरकारप्रति गैर-आवासीय नेपालीहरू बढी आशावादी छन् । वर्षौंदेखि ओझेलमा पारिएका र अल्झाएर राखिएका आफ्ना मुद्दा पूरा हुने विश्वासमा पनि छन् । गैर-आवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई आफ्नै ती माग र मुद्दाका फाइल बोकेर काठमाडौंमा दौडधुप गरिरहेकी छिन् ।

रोजिनाका अनुसार गैर-आवासीय नेपाली नागरिकतालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक ऐन तथा कानुन तत्काल निर्माण गर्न सरकारसँग निरन्तर पहल भइरहेको छ । संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित गैर-आवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि आवश्यक कानुनी संरचना तयार नहुँदा विदेशमा रहेका नेपालीले अझै त्यसको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन् ।

एनआरएनएले सरकारसमक्ष तीन चरणमा माग अघि सारेको छ — पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयबाटै तत्काल कार्यान्वयन गर्न सकिने व्यवस्था लागू गर्न, दोस्रो चरणमा नागरिकतासम्बन्धी विधेयक चाँडो पारित गर्न र तेस्रो चरणमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई संवैधानिक रूपमा सुनिश्चित गर्न ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंक खाता सञ्चालन, सम्पत्ति खरिद-बिक्री, अंश तथा अपुताली नामसारी, डिम्याट खाता सञ्चालन र सवारी साधन खरिदजस्ता विषय मन्त्रिपरिषद्को निर्णयबाटै सहज बनाउन सकिने भएकाले ती विषयलाई प्राथमिकतामा राखिएको उनले बताइन् । नागरिकतासम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदामाथि परराष्ट्र मन्त्रालयसँग विस्तृत छलफल भई एनआरएनएले संशोधनसहितको प्रस्ताव बुझाएको र हाल यो कानुन मन्त्रालयमा छलफलको क्रममा रहेको उनले जानकारी दिइन् ।

एनआरएनएको स्थापनाकालदेखि नै वंशजको नागरिकताको निरन्तरता संस्थाको मूल एजेन्डा रहेको बताउँदै राईले सबै देशमा दोहोरो नागरिकताको व्यवस्था समान नभएकाले त्यस्ता अवस्थामा गैर-आवासीय नेपाली नागरिकता वा एनआरएन कार्डजस्ता विकल्प आवश्यक रहेको बताइन् ।

नेपालमा लगानी गर्न चाहने गैर-आवासीय नेपालीले अझै प्रशासनिक झन्झट भोग्नुपरेको उल्लेख गर्दै उनले पूँजी ल्याउने, लगानी गर्ने र प्रतिफल फिर्ता लैजाने प्रक्रिया सहज बनाउन ‘वान डोर सिस्टम’ लागू गर्न सरकारसँग आग्रह गरिएको बताइन् ।

विगत केही वर्ष नेतृत्व विवादमा रहेको एनआरएनए अहिले एकीकृत भई डा. हेमराज शर्माको नेतृत्वमा अघि बढिरहेको दाबी गर्दै राईले संस्थाले वेलफेयर, श्रम, महिला, खेलकुद, युवा, कानुनी सहायता र लगानीजस्ता विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन् ।

विदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपालको भाषा, संस्कृति र पहिचानसँग जोड्नु अहिले एनआरएनएको प्रमुख प्राथमिकता रहेको बताउँदै उनले विभिन्न देशमा नियमित नेपाली मेला र सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको उल्लेख गरिन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्य, कानुनी परामर्श र अभिमुखीकरणका लागि पनि अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नियमित कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

अन्त्यमा राईले नेतृत्व चयन प्रक्रियालाई थप समावेशी बनाउन विश्वभर छरिएका पञ्जीकृत सदस्यलाई सहभागी गराउने अनलाइन मतदान प्रणाली प्राथमिकतामा राखिएको बताउँदै आफ्नो हालको ध्यान उपाध्यक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नमा केन्द्रित रहेको स्पष्ट पारिन् ।