एनआरएनएद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री कोषमा १ करोड सहयोग

nrna-donates-one-crore-to-prime-minister-disaster-relief-fund

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार र राहतमा मात्र सीमित नरहेको भन्दै प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने बताएका छन् । उनले विपद्पछि तत्काल उद्धारसँगै जनस्वास्थ्य, शव व्यवस्थापन, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ठूलो संख्यामा नागरिकले घरबार तथा व्यवसाय गुमाएकाले प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

मन्त्री खनालले अर्थमन्त्रीले प्रारम्भिक अनुमानका आधारमा विपद्बाट करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको हुनसक्ने सार्वजनिक रूपमा बताएको उल्लेख गर्दै नेपाल सरकारले मात्रै पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी पूरा गर्न कठिन हुने बताए । उनले अहिलेको प्रारम्भिक चरणपछि प्रभावित नागरिक तथा क्षेत्रका आवश्यकताहरू अझ बढ्दै जाने भएकाले नेपाल सरकार एक्लैले सबै आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् । उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका चरणमा समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

मन्त्री खनालले एनआरएनएसँग विपद् व्यवस्थापनका सबै चरणमा सहकार्य हुने विश्वास व्यक्त गर्दै राहत वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेका छन् । राहत वितरणमा दोहोरोपन हुन नदिन र वास्तविक पीडितसम्म सहायता पुग्ने सुनिश्चित गर्न सरकारले ‘वान डोर’ नीति अघि बढाएको उनले बताए । राहत वितरणअघि र वितरणपछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्नेमा समेत उनले जोड दिए ।

मन्त्री खनालले पछिल्लो विपद् सामान्य बाढीभन्दा फरक प्रकृतिको रहेको बताएका छन् । नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उनले रसुवा र नुवाकोटका थुप्रै बस्तीमा बाढी तथा पहिरोले ठूलो असर गरेको बताए । प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता रहेको उनको भनाइ थियो ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघले बाढी प्रभावित नागरिकका लागि प्रारम्भिक चरणमा पाँच करोड रुपैयाँ बराबरको राहत सहयोग गर्ने योजना बनाएको जानकारी दिए । उनका अनुसार बाढी आएको भोलिपल्टदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा जुटेका छन् । नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपछि पहिलो र दोस्रो दिन नै राहत सामग्री वितरण गरिएको उनले बताए ।

त्यसैगरी एनआरएनए एनसीसी चीनका प्रतिनिधिहरूले रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बालबालिकाका लागि लत्ताकपडा वितरण गरेको अध्यक्ष शर्माले जानकारी दिए । एनआरएनएको हेल्थ कमिटीको संयोजनमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको उनले बताए । एनआरएनएले सरकारसँग समन्वय गरेर प्रारम्भिक राहतदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अध्यक्ष शर्माले एनआरएनएको पाँच करोड रुपैयाँ बराबरको सहयोग प्रारम्भिक रूपमा प्रतीकात्मक सुरुवात मात्र भएको भन्दै पुनर्निर्माणको चरणमा आवश्यकता र परिस्थितिअनुसार त्यसभन्दा बढी सहयोग गर्न सकिने बताए । उनका अनुसार हाल एनआरएनएका राष्ट्रिय समन्वय परिषद्मार्फत विदेशमा रहेका गैरआवासीय नेपालीहरूबाट बाढी प्रभावितका लागि रकम संकलन भइरहेको छ । पछिल्ला केही दिनमै करिब साढे ६ करोड रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको उनले जानकारी दिए ।

शर्माका अनुसार बाढीबाट प्रभावित पाँच जिल्लाका परिवारका सदस्यहरू ठूलो संख्यामा विदेशमा रहेकाले उनीहरूसँग समन्वय गरी प्रभावित परिवारसम्म सहयोग पुर्याउने काममा समेत एनआरएनए केन्द्रित भएको छ । विदेशमा रहेका गैरआवासीय नेपालीहरूले आर्थिक सहयोग जुटाउनुका साथै सम्बन्धित देशका सरकार, नागरिक तथा संघसंस्थामार्फत नेपालमा आएको विपद्बारे जानकारी गराउने र सहयोगका लागि अपिल गर्ने कामसमेत गरिरहेको उनले बताए ।

अध्यक्ष शर्माले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका क्रममा नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउनसमेत एनआरएनए तयार रहेको बताएका छन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप, स्रोत र अनुभवलाई पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न सकिने भन्दै उनले सरकारसँग सहकार्य गरेर दीर्घकालीन रूपमा प्रभावित क्षेत्रको पुनर्निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि तत्काल उद्धार तथा राहतसँगै विस्थापित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण मुख्य चुनौती बनेको छ । यस्तो अवस्थामा एनआरएनएले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको एक करोड रुपैयाँ सहयोग तथा प्रारम्भिक चरणमा घोषणा गरेको पाँच करोड रुपैयाँ बराबरको राहत कार्यक्रमले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।