नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउन डेटा एकीकरणमा जोड
नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन संरचित तथ्यांकको प्रयोग र एकीकृत डेटा प्रणालीको आवश्यकतामाथि छलफल गरिएको छ। नेपाली स्टार्टअप ट्रेलम्यापरले द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरको सहकार्यमा काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा ‘संरचित तथ्यांकले नेपालको पर्यटनलाई कसरी अझ सुरक्षित र स्मार्ट बनाउन सक्छ ?’ विषयमा विशेष प्यानल छलफल आयोजना गरेको हो।
कार्यक्रममा पर्यटन, संरक्षण, विपद् व्यवस्थापन, शिक्षा तथा सञ्चार क्षेत्रका करिब ३५ प्रतिनिधिको सहभागिता थियो। नेपाल पर्यटन बोर्डका सुधन सुबेदी, नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसनका अशोक सुबेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईं तथा जीआईएस र विपद् जोखिम व्यवस्थापन विज्ञ राजु चापागाईं प्यानलिस्टका रूपमा सहभागी थिए।
छलफलमा पदयात्रा मार्ग, मौसम, सुरक्षा तथा आपत्कालीन सेवासम्बन्धी तथ्यांक विभिन्न निकायमा छरिएर रहेको र धेरै तथ्यांक अद्यावधिक वा प्रमाणित नभएकाले पदयात्री सुरक्षामा चुनौती देखिएको विषय उठाइएको थियो। सहभागीहरूले उपलब्ध तथ्यांकलाई एकीकृत र प्रमाणित प्रणालीमार्फत प्रयोग गर्न सके नेपालको पदयात्रा पर्यटनलाई थप सुरक्षित, प्रभावकारी र प्रतिस्पर्धी बनाउन सकिने धारणा राखेका थिए।
ट्रेलम्यापरका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्वर्णिम रत्न शाक्यले पर्यटन क्षेत्रमा तथ्यांकमा आधारित निर्णय प्रणाली आवश्यक रहेको बताए। ट्रेलम्यापरले पदयात्रा मार्ग, ट्रेल वेपोइन्ट, आवास, आपत्कालीन सम्पर्क तथा अन्य आवश्यक जानकारी एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउँदै आएको छ।