जुलाईमा नेपालमा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिए, चिनियाँ पर्यटकमा ६१ प्रतिशत उछाल
काठमाडौं । नेपालमा जुलाई २०२६ मा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा २.३ प्रतिशत बढी हो। जुलाई २०२५ मा ७० हजार १९३ जना पर्यटक नेपाल आएका थिए।
सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट २३ हजार ४९० जना अर्थात् कुल आगमनको ३२.७३ प्रतिशत पर्यटक नेपाल पुगेका छन्।
चीनबाट आउने पर्यटक संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। जुलाईमा ११ हजार ९९ जना चिनियाँ पर्यटक नेपाल आए, जुन अघिल्लो वर्षको ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो। यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्था (२०१९ को १० हजार २१५) भन्दा पनि ८.६५ प्रतिशतले माथि पुगेको छ।
तेस्रो स्थानमा अमेरिका छ, जहाँबाट ७ हजार ७५४ जना पर्यटक आए। बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल भित्रिए।
क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकबाट सबैभन्दा बढी २९ हजार ७५५ पर्यटक (४१.४६ प्रतिशत) आए, तर यो गत वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशतले घटेको हो। भुटानबाट ९९१, पाकिस्तानबाट ४७५ (३.९४ प्रतिशत वृद्धि), श्रीलंकाबाट ५८१ र माल्दिभ्सबाट ३९ जना पर्यटक आए।
अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना (२४.२८ प्रतिशत) पर्यटक आए, जुन गत वर्षभन्दा ३३.०५ प्रतिशत बढी हो। यस समूहमा दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११ जना पर्यटक रहेका छन्।
युरोपबाट ९ हजार २७९ जना (१२.९३ प्रतिशत) पर्यटक आए, जसमा बेलायत अग्रस्थानमा छ। अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकाबाट ३२४ जना पर्यटकले नेपाल भ्रमण गरे।