साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

nepal-to-import-210000-metric-tons-chemical-fertilizer-by-saun

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्रै करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल देशभित्र भित्र्याउने तयारी थालेको छ। धान खेतीका लागि आवश्यक पर्ने मलको अभाव हुन नदिन किसानहरूलाई राहत पुग्ने गरी मन्त्रालयले विभिन्न स्रोतबाट मल आयातको प्रक्रिया अघि बढाइरहेको हो।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल भित्र्याइने छ, जुन असारको अन्ततिरदेखि साउनको दोस्रो हप्तासम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। भारतसँगकै जीटूजी सम्झौता अन्तर्गत रहेको कुल ८० हजार मेट्रिक टनमध्ये पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो साताभित्र नेपाल भित्रिनेछ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन मल भित्र्याउने योजना रहेको मन्त्रालयले जनाएको छ, जसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया समावेश छ। यी खेप साउनको पहिलो साताभित्रै नेपाल पुर्‍याउने लक्ष्य लिइएको छ।

हाल ओमानमा लोडिङ प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया असारको अन्तिमसम्ममा कलकत्ता बन्दरगाह पुगी साउनको दोस्रो साता नेपाल भित्रिने बताइएको छ। त्यसैगरी होर्मुज खाडी पार गरी भिसाखापटनम पोर्ट पुगिसकेको ३० हजार मेट्रिक टन डीएपी असार १०–२० गतेभित्र नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ।

साथै जहाजमा लोड भइसकेको थप ३० हजार मेट्रिक टन युरिया साउनको पहिलो साता कलकत्ता बन्दरगाहबाट रवाना भई साउनको अन्त्यसम्ममा नेपाल भित्रिने अपेक्षा गरिएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटेको भए पनि किसानलाई राहत हुने गरी आपूर्ति सुनिश्चित गर्न मन्त्रालय लागिपरेको जनाएको छ। चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको छ।