नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो, पर्सा र बाँकेमा उल्लेख्य वृद्धि
काठमाडौं । नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई कुल सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसको सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक गर्दै अघिल्लो गणनाभन्दा ७४ ले वृद्धि भएको जनाएको हो ।
सन् २०२२ (वि.सं. २०७८) को गणनामा देशभर ३५५ बाघ रहेका थिए । नयाँ तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज बाघको सबैभन्दा ठुलो बासस्थान रहँदै आएको छ, जहाँ सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा उल्लेखनीय सुधार देखिएको छ, जहाँ ४१ बाट बढेर ७१ बाघ पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट ५१ र शुक्लाफाँटामा ३६ बाट ५० पुगेका छन् । तर बर्दिया राष्ट्रिय निकुञ्जमा भने १२५ बाट १३ ले घटेर ११२ मा सीमित भएको देखिन्छ ।
सङ्ख्या बढे पनि वृद्धिदर भने अघिल्लो पटकको तुलनामा घटेको छ । २०७४ मा २३५ रहेको बाघ सङ्ख्या २०७९ सम्म आउँदा करिब ५१ प्रतिशतले (१२० वटा) बढेको थियो, तर यसपटक वृद्धिदर जम्मा २१ प्रतिशत मात्र रहेको विभागको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा आधुनिक क्यामरा ट्र्यापिङ प्रविधिबाट ३७३ वटा भिन्दाभिन्दै बाघ पहिचान गरी वैज्ञानिक विधिका आधारमा कुल ४२९ को अनुमान गरिएको हो ।
विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार बाघको सङ्ख्या वृद्धि संरक्षणको ठुलो उपलब्धि भए पनि मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधार र आहारा प्रजातिको संरक्षण अब मुख्य चुनौती बनेको छ । विभागले ‘शून्य मानव क्षति’को लक्ष्यसहित बाघ व्यवस्थापनमा थप केन्द्रित हुने योजना बनाएको छ ।